काठमाडौं । १९ वटा वाणिज्य बैंकहरुले पहिलो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका छन् । अर्थतन्त्र बिग्रिएका बेला केही वाणिज्य बैंकहरुले भने नाफा बढाउन सकेनन् भने केही बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।

त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुको कुल नाफा पनि गत आर्थिक वर्षको सोही अवधीको तुलनामा घटेको देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १५ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका बैंकहरुको नाफा यस पटक घटेर १२ अर्ब ६१ करोड २२ लाख रुपैयाँ रुपैयाँमा पुगेको छ । यस अवधिसम्म आइपुग्दा यिनीहरुको नाफा समग्रमा १७.५९ प्रतिशतले घटेको छ ।

नेप्सेमा सुचिकृत ८ बैंकको मात्र खुद मुनाफा बढेको छ । जसमध्ये ७ वटा बैंकको नाफा १ अर्ब भन्दा माथि रहेको छ । प्रभु बैंकले आफ्नो नाफा ७० करोडबाट वृद्धि गरेर एक अर्ब ३ करोड पुर्याएको छ । ग्लोबल आइएमईको नाफा एक अर्ब १८ करोडबाट बढेर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

एनएमबी बैंकले पनि ९० करोडबाट आफ्नो नाफालाई ९६ करोड बनाउन सफल भएको देखिन्छ ।प्राइम बैंकको नाफा भने उल्लेख्य मात्रामा सुधार हुँदै ८७ करोडबाट एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ । हिमालयन बैंकको नाफा पनि ५३ करोडबाट बढेर एक अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि एक अर्ब १४ करोडबाट बढेर एक अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ ।

स्ट्याण्डर्ड चाटर्डले २०७९ असोजमा ८१ करोड रहेको नाफालाई यसपाली ८२ करोड बनाएको छ । माछापुच्छ्रे बैंकले २०७९ असोज मसान्तमा जम्मा ४५ करोड नाफा कमाएको थियो तर यसापाली २०८० असोज मसान्तमा भने त्यस्तो नाफा ५४ करोड पुर्याएको छ त्यसै गरी, पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार कृषि विकास बैंकको नाफा ८८ करोड रुपैयाँले घटेको छ । नबिल बैंकको नाफा यसपाली एक अर्ब ५७ करोड रुपैयाँबाट घटेर एक अर्ब ४६ करोड रुपैयाँमा सिमित भएको छ ।

अन्य ११ वटा वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको देखिन्छ । एनआईसी एशिया बैंकको नाफा एक अर्ब ७५ करोडबाट घटेर एक अर्ब १० करोडमा सिमित भएको छ । सिद्धार्थ बैंकको नाफा पनि ४९ करोडबाट ४२ करोडमा झरेको छ ।सानिमा बैंकको नाफा ५४ करोडबाट घटेर ४८ करोडमा सिमित भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको नाफा पनि ६२ करोडबाट घटेर ४७ करोडमा घटेको छ ।

यता, नेपाल बैंकको नाफा ६० करोडबाट एकै पटक १४ करोडमा झरेको छ । एभरेष्ट बैंकको नाफा यसपाली ८६ करोडबाट ७८ करोडमा झरेको छ । सिटिजन्स बैंकको नाफा पनि ५० करोडबाट झरेर ४० करोड पुगेकोे देखिन्छ । कुमारी बैंकले २०७९ असोज मसान्तमा एक अर्ब रुपैयाँ नाफा जोडेको थियो भने २०८० असोज मसान्तमा त्यस्तो नाफा २६ करोडमा रोकिएको छ ।लक्ष्मी सनराईजले उक्त अवधीमा जम्मा १० करोड मात्रै नाफा कमाएको छ, जुन २०७९ असोजमा ५० करोड रुपैयाँ थियो ।