काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, अर्थात् एमडीएमएस प्रणाली आज सोमबारदेखि कार्यान्वयनमा आएको छ। नेपालमा हुने मोबाइल सेटको प्रयोग र आयातलाई व्यवस्थित बनाउन प्राधिकरणले आजदेखि एमडीएमएस प्रणाली कार्यन्वयनमा ल्याएको हो।

प्राधिकरणले आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने तयारी गरेको छ । चोरीको बाटो भएर नेपालमा मोबाइल नभित्रियोस् भनेर एमडीएमएस लागू गर्न लागिएको हो ।
यो सँगै अब दर्ता नभएका, अवैध तरिकाले नेपाल ल्याइएका मोबाइल चल्नेछैनन् । यस्तै, नेपालमा दर्ता नभएको मोबाइलमा सिम चल्ने छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत यसअघि कात्तिक ४ गते एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरुलाई एमडीएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरु दर्ता गर्न भनेको थियो ।

सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरुमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो । सोही अनुसार प्राधिकरणले आजदेखि एमडीएमएस लागू गर्न लागेको हो ।

आफ्नो मोबाइल दर्ता भए- नभएको यसरी थाहा पाउनुहोस्:

प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ-छैन भनेर हेर्नका लागि भने एमडीएमएस प्रणालीको आधिकारिक वेबसाईटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सक्नेछन् ।
आफ्नो फोन एमडिएमएसमा दर्ता भएको छ-छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ । यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर ८३०६३ डायल गरेर पत्ता लगाउन सकिन्छ ।

अथवा मोबाइल नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ ।

के हो एमडीएमएस ?

एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) प्रणालीले मोबाइल सेटहरुको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई व्यवस्थित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र हराएका र चोरी भएका मोबाइल नचल्ने व्यवस्था हो।
करिब एक अर्ब रुपैयाँ लगानीमा तयार पारिएको एमडीएमएस प्रणालीले मोबाइल सेटको परिचय दिने आइएमइआई नम्बरको दर्ता गरेर सम्पूर्ण मोबाइल सेटको जानकारी संकलन गर्छ । एमडीएमएस प्रणालीमा दर्ता भएका आइएमइआई नम्बरको आधारमा ह्वाईट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्टको सूची बनाइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ह्वाईट लिस्टमा प्रयोग गर्ना मिल्ने वैधानिक मोबाइल हुनेछन्।ग्रे लिस्टमा उजूरी परेर छानबिन हुँदै गरेका तथा शंकास्पद र ब्लाक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरु राखिने छ भने दर्ता भएका तर प्रयोग गर्न नमिल्ने मोबाइलका आइएमइआई नम्बरहरु पर्नेछन्।

प्राधिकरणका अनुसार अवदेखि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको मोबाइलमात्र प्रयोग गर्न सकिनेछ। हराएका र चोरी भएका मोबाइल ट्रर्याकिङ र ब्लकिङ गर्न सकिनेछ। मोबाइल व्यवसायीहरूले फोन ल्याउदा एमडीएमएस प्रणालीको इम्पोटर्स पोर्टलबाट आइएमइआई नम्बर दर्ता गर्नुपर्छ।

क-कसले ल्याउन पाउँछन दुई वटा फोन ?

विदेश गएर फर्किने सबैले दुई वटा फोन ल्याउन पाउँदैनन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर कम्तीमा लगातार ६ महिना काम गरेर फर्केका नेपाली नागरिकले आफूले प्रयोग गरेको बाहेक थप एक थान मोबाइल ल्याउँदा कुनै प्रकारका शुल्क लाग्दैन। घुमफिर भिसा र विद्यार्थी भिसामा विदेश गएर फर्केका नेपाली नागरिकले ल्याएको मोबाइल एमडीएमएस प्रणालीमा दर्ता हुँदैन । अवदेखि दर्ता नभएको मोबाइन नेपालमा नचल्ने प्राधिकरणले जनाएको छ।

कसरी  गर्ने दर्ता?

फोन नेपाल भित्रिएको १५ दिनभित्र एमडीएमएसमा दर्ता गर्नुपर्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार मोबाइलमा एमडीएमएसमा दर्ता गर्न भनेर मेसेज आउँछ । अनलाइनमार्फत् १५ दिनभित्र दर्ता गर्नुपर्छ।

यस्तै, मोबाइल फोन दर्ता गर्न विमानस्थलमै एउटा डेस्क हुन्छ । त्यहाँ बसेका प्राविधिक कर्मचारीले दर्ता गर्ने प्रकृया पुरा गरेको निश्चित समयमा फोन चल्ने सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन्।
मोबाइल दर्ता छ कि छैन कसरी थाहा पाउने ?

विदेशीबाट ल्याएका मोबाइल फोन मात्रै दर्ता गर्नु पर्छ । आधिकारिक नेपाली व्यवसायीमार्फत खरिद गरिएका फोन भने व्यवसायीले नै दर्ता गरेर ल्याउने भएकाले नेपालमा किनेका फोनहरु दर्ता गर्न नपर्ने प्राधिकरणले जनाएको छ ।

मोबाइल खरिद गर्नु अघि  https://mdms.nta.gov.np/ वेबसाइट बाट सो मोबाइलको आईएमईआई दर्ता भएको छ कि छैन भनेर चेक गरी सो मोबाइल नेपालमा चल्छ कि चल्दैन थाहा पाउँन सकिन्छ । आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन आफ्नो मोबाइलमा ‘*#06#’ डायल गर्नुपर्छ । २ वटा सिमकार्ड चल्ने मोबाइलमा २ वटा नै आईएमईआई नम्बर देखिन्छ । यदि २ वटा सिमकार्ड लाग्ने मोबाइल छ भने २ वटै आईएमईआई नम्बर दर्ता भएको हुनुपर्छ।