तिहारलाई बत्तीको चाड भनेर चिनिन्छ । त्यती मात्रै होइन तिहार मसलाको पनि पर्व हो । दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने यस पर्वमा दिदीबहिनी र दाजुभाइकोे आयु आरोग्यको कामना गर्दै सप्तरङ्गी टीका लगाउने प्रचलन रहेको छ ।

त्यती मात्रै नभई तिहारमा विभिन्न मरमसला र मिठाइका परिकारको पनि प्रयोग हुने गरेको छ । काजु, बदाम, नरिवल, ओखर जस्ता मसलाहरु पनि दिने चलन छ । धार्मिक रुपमा तिहारमा मसला दिइन्छ तर यसले वैज्ञानिक महत्त्व पनि बोकेको छ । असार र वर्षा याम तथा मौसम परिवर्तन हुने समयमा कमजोर बन्ने शरीरलाई प्रोटिन, भिटामिन लगायतका आवश्यक तत्त्व रहने मर मसला र उपयोगी चीजका माध्यबाट बलियो र स्फुर्ती बनाउनका लागि पनि मसलाको महत्त्व हुन्छ ।

तिहार मसलाका विशेषता यस्ता छन्

ओखर

तिहार भन्ने बित्तीकै सुरुमै दिमागमा आइहाल्ने भनेको ओखर हो । तिहारमा ओखरको प्रयोग धेरै हुन्छ । ओखर स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ । ओमेगा ३ एसेसियल फ्याटी एसिडका लागि ओखर उपयुक्त स्रोत हो ।

ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्त्व हुन्छ जसले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै ओखरमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउँछ ।

साथै यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।ओखर मुटुको मांसपेशीमा हुने कमजोरी, दम, अर्थराइटिस, एक्जिमा पत्थरी लगायत ओखर सेवनले क्यान्सरसँग लड्ने क्षमता प्रदान गर्छ ।

बदाम
भाई मसलामा बदाम पनि नभई नहुने खाद्यपदार्थ हो । बदाम पनि स्वास्थ्यका लागि निकै फाइदाजनक रुपमा लिइन्छ । बदामको सेवनले रक्त कोष तथा हेमोग्लोबिनको विकासमा सहयोगी हुन्छन् ।

नियमित बदाम खानाले खानापछि बढ्ने सुगर ९मधुमेह० को मात्रामा कमी आउँछ । साथै मधुमेह र मुटुको रोगको उपचारमा समेत मद्दत गर्छ । बदामको यस्तो पोषक तत्त्व पाइन्छ, जसले स्मरण शक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ ।

नरिवल

भाइ मसलामा दिदी बहिनिले नरिवलको पनि प्रयोग गर्ने गर्दछन् । नरिवल स्वास्थ्यका दृष्टिले अति उपयोगी फल हो । ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशकको रुपमा नरिवललाई लिइन्छ ।
त्यस्तै नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ । यी सबै तत्त्व शरीरका लागि निकै उपयोगी हुन्छन् ।

काजु
काजुमा ओलिक एसिड हुन्छ, जसले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिन्न तत्त्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।

काजुमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिङ्क, म्याग्नेसियम, कपर आदिले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्न सहयोग पुर्‍याउँछन् ।
त्यस्तै काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जसले गर्दा डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।

किसमिस
भाइ मसालमा किसमिस पनि दिने प्रचलन छ । अंगुरलाई सुकाएर बनाइने किसमिस मानव स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ । यो रक्त अल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ ।

पिस्ता
पिस्ता पनि भाई मसलामा दिइन्छ । शरीरको लागि निकै फाइदाजनक हुन्छ । पेस्तामा भिटामिन–ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ
पेस्तामा प्रशस्त मात्रामा एन्टिअक्सिड पाइन्छ । यसमा मानव स्वास्थ्यका लागि आवश्यक फाइबर पनि हुन्छ । पेस्ताको नियमित सेवनले मस्तिष्क तेज हुनुका साथै रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । यसको सेवनले हर्ट अट्याकको जोखिम घटाउँछ । पिस्ताले हृदयघातबाट बचाउँछ । सन्तुलित रक्त संचालनका लागि समेत पिस्ता उपयोगी मानिन्छ ।
यसमा पर्याप्त मात्रामा भिटामिन बी ६ पाइन्छ । यो हेमोग्लोबिन निर्माणका लागि आवश्यक हुन्छ ।

दालचिनी
दालचिनीमा हुने पोलिफिनोल नामक तत्त्वले शरीरमा विशेष प्रकारका प्रोटिनहरूको काम बढाई इन्सुलन निष्कासन गर्न सहयोग गर्छ । त्यस्तै, रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम हुने हुँदा यसले मधुमेहका रोगीलाई फाइदा पु¥याउँछ ।

ल्वाङ
ल्वाङले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ । ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ। जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत दिलाउँछ।

ल्वाङको सेवनले रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पुर्‍याउँछ।
ल्वाङले आँखाको ज्योतिलाई कायम राख्न मद्दत गर्छ। साथै, पिनासको जोखिम कम गर्छ।

मरिच
मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ । मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ । त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरिच लाभदायी मानिन्छ । क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ ।

सुकुमेल
मुटुको धड्कनलाई सही राख्नको लागी सानो सुकुमेल निकै प्रभावकारी हुन्छ। सुकुमेलमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुजको मुख्य तत्त्व पोटासियम हो।

सुकुमेलमा पोटासियम पर्याप्त मात्रामा पाइन्छ। सुकुमेलले फोक्सोमा रक्त संचालनको गतिलाई बढाउँछ। यसले श्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्दछ।

मानव शरीरमा धेरैजसो रोगले उच्च रक्तचापको कारण जन्म लिन्छ। यदि तपाई पनि प्रतिदिन दुईदेखि तीन वटासम्म सुकुमेलको सेवन गर्नु हुन्छ भने तपाइ रक्तचापबाट मुक्त हुनुहुन्छ। आयुर्वेदमा सुकुमेलको परिणाम गर्मी मानिएको छ। जसले शरीरको लागि गर्मी दिन्छ।