काठमाडौं । मोबाईल एप तथा डिजिटल वालेटबाट कारोबार गर्दा फेल भई रकम काटेको अवस्थामा तीन दिनभित्र रकम फिर्ता गर्नुपर्ने नयाँ व्यवस्था नेपाल राष्ट्र बैंकले लागु गरेको छ ।
नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणाली सम्बन्धी निर्देशिकालाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार डिजिटल कारोबारमा फेल भएको पेमेन्ट रकम तीन दिनभित्रैमा भुक्तानी गरिसक्नुपर्नेछ ।
त्यस्तै, भुक्तानी रकम पठाउने र पाउने दुवै पक्ष एउटै वालेट वा बैंकको भएमा २४ घण्टाभित्रैमा फोर्स सेटलमेन्ट गरिसक्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
नयाँ व्यवस्था अनुसार केन्द्रीय बैंकले फेल भएका पेमेन्टको भुक्तानी सेटलमेन्ट गर्ने दायित्व दुवै वित्तीय संस्थाको हुने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंकलाई विद्युतीय भुक्तानी गर्दा साईबर रिलिजेन्स गाईडलाईन फलो गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।
नयाँ व्यवस्थासँगै अब विद्युतीय कारोबार बीचैमा अड्किएर समस्या पर्ने ग्राहकले राहत पाउनेछन् । अहिले बैंकहरुले यस्तो विद्युतीय भुक्तानी अल्झिएको समस्या समाधान गर्न महिनादिनसम्म लगाउने गरेका छन् ।