काठमाडौँ । नेपाल–चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन्।

उक्त प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी १०४ जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवतरण गर्ने मङ्गलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी जानकारी गराइएको छ।

नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटेल एसोसिएसन पोखराको सह आयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदै छ।

उनीहरू चिनियाँ सरकारको सहयोगमा हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आउन लागेका हुन्। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले प्रतियोगितामा नेपाल र चीनका १०र१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने जानकारी दिए।

प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ। फेवाताल किनार बाराहीघाटबाट सुरु हुने प्रतियोगिता पातले छाँगो हुँदै विश्व शान्ति स्तूप पुगेर फेवातालमा बोटिङ गरी व्यक्तिगत दौड पूरा गर्नुपर्नेछ भने आम नागरिक र विद्यार्थीका लागि ५र५ किलोमिटरका दौड प्रतियोगिता आयोजना गरिनेछ।

नेपाली र चिनियाँ धावकबिच हुने प्रतियोगिताका प्रथम हुने टोलीले ३ लाख ३० हजार, दोस्रो हुनेले २ लाख ८८ हजार, तेस्रो हुनेले २ लाख १६ हजार, चौथो हुनेले १ लाख ४४ हजार र पाँचौँ हुनेले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

व्यक्तिगत स्पर्धातर्फ प्रथम हुनेले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। व्यक्तिगततर्फ चौथोदेखि अन्तिम स्थानमा आउने र विद्यार्थीको दौडामा भाग लिने सबैलाई नगद पुरस्कारको व्यवस्था गरिएको बोर्डको भनाइ छ।

यसअघि सन् २०१९ मा पोखरामा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड-१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता आयोजना हुन सकेको थिएन। प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।