काठमाडौँ । मङ्गलवार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २३.८२ अंकले घटेर १८२९ को विन्दुमा कायम हुन पुगेको हो ।
१० दिन पछि हिजो अर्थात् सोमवारका दिन खुलेको बजारमा सामान्य सुधार देखिएको थियो । तर आज बजारमा भारी गिरावट आएको छ ।
बजारले ओरालो यात्रा तय गरेकाले लगानीकर्ता निराश बन्दै गएका छन् । ठुला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका देखिन्छ। साना लगानीकर्ताले बजार उठाउन सकेका छैनन् ।
सेयर बजारमा प्रभाव पार्ने प्रमुख कारण भनेको नै बैङ्कहरूको ब्याजदर हो ।कात्तिक २४ गते अर्थ समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । यसको प्रभाव समेत सेयर बजारमा देख्न सकिन्छ ।
आज १२ उपसूचक राताम्य भएका छन् । आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी हिमालयन डिस्टिलरीको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ७८ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको ४ करोड ३९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन शिभम् सिमेन्टको ३ करोड ७० लाख ५८ हजार रुपैयाँ, सोल्टी होटेल २ करोड ८८ लाख २७ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको २ करोड ६८ लाख ८१ हजार रुपैयाँको कारोबार भएको हो ।