काठमाडौं । इमेज बचत तथा ऋण सहकारीबाट बचतकर्ताको करिब डेढ अर्ब हिनामिना गरेर ६ महिनादेखि फरार रहेका ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका सहकारी अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् ।

६ महिनादेखि बेपत्ता भएका नेपाली विरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने अध्यागमन मार्फत विदेश यात्रामा रोक लगाइएको छ । एकाएक नेपाली मंगलबार फेसबुकमा प्रकट भए ।

उनले सबै बचतकर्ताको सबै रकम फिर्ता गर्ने विज्ञप्ति फेसबुकमार्फत सार्वजनिक गरे । आफूसँग भएका सम्पत्तिको विवरण समेत सार्वजनिक गर्दै उनले सोही सम्पत्ति बेचेर रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालीले भिडियो सन्देशमार्फत सेयर सदस्य, बचतकर्ता, पत्रकार र नागरिक समाजलाई बचत फिर्ताको वातावरण मिलाइदिन आग्रह गरेका छन् । उनले सञ्चालन गरेको इमेज सहकारीबाट बचतकर्ताको रकम अपचलन भएको आरोप लागेपछि उनी परिवार र सञ्चालकसहित फरार थिए ।

ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका उनीविरुद्ध बचतकर्ताहरुले बागलुङ र कास्कीमा उजुरी दिएका छन् । उनले सहकारीमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि हाल कहाँ छन् भन्ने खुलाएका छैनन् ।

केही बचतकर्ताले हतियारसहित घरमा आएर धम्की दिएपछि आफू लुक्न बाध्य भएको उनले विज्ञप्तिमा जनाएका छन् । बचतकर्ताले १० हजार बचत भए पनि १० लाखको उजुरी दिएको उनको गुनासो छ । धेरै बचतकर्ताले रकम फिर्ता लगेको पनि उनले खुलाए ।

‘इमेजमा २ अर्बको डिपोजिटको हल्ला छ । त्यो सत्य होइन,’ उनले भने, ‘कसैले डिपोजिट फिर्ता लगे पनि पूरै डिपोजिट रहेको देखाएका छन् । कसैले १० हजार भए पनि १० लाख रहेको उजुरी दिएका छन् ।’

हिसाब मिलाउन समय माग्दासमेत नपाएपछि घरमा बस्न नसकेको उनले बताए । नेपालीले विभिन्न ठाउँमा रहेको १८ वटा घर र विभिन्न कित्ताको जग्गा सार्वजनिक गरेका छन् ।

आफूसँग भएको ३ अर्बभन्दा बढीको सम्पत्ति बचतकर्तालाई पास गरेर दिन तयार रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । बागलुङ, पोखरा र काठमाडौँमा उनले १८ वटा घर देखाएका छन् । त्यसमध्ये बागलुङमा ९ वटा, पोखरामा ३ वटा र काठमाडौँमा ६ वटा छ । उनले ४५ वटा कित्तामा जग्गा पनि देखाएका छन् ।