काठमाडौँ । बाँकेको नेपालगन्जस्थित रुपैडिया–जमुनाहा नाकाबाट आज मुर्रा राँगा भित्र्याइँदै छ ।
भारतले उपहार स्वरूप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो १ देखि २ बजेभित्र नेपालजंगस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयले जनाएको छ ।
पशु क्वारेन्टाईन कार्यालयका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो । उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएका राँगाको स्याहारका लागि एक जना भेटेरिनरी डाक्टर पनि सँगै रहेका छन् ।
नेपालमा आज आइपुग्ने १५ मुर्रा राँगालाई एक दिनका लागि नेपालगन्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखिने छ । स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाइने पशु क्वारेन्टाईन कार्यालयको भनाई छ ।
राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगन्ज र लहान) मा राखिने छ । राँगाबाट पोखरा, नेपालगन्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य सङ्कलन र संरक्षण गरिने जनाइएको छ ।