काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न सुझाव दिएको छ । फ्री भीपीएन प्रयोग गर्दा ह्याकिङको निसानमा पर्ने सम्भावना पनि बढी रहने भएकाले प्रयोग नगर्न प्राधिकरणले आग्रह गरेको हो ।

इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन भीपीएन प्रयोग गरिने भए पनि इन्टरनेटमा निःशुल्क उपलब्ध हुने भीपीएनको जथाभावी प्रयोग जोखिमपूर्ण हुने प्राधिकरणले जनाएको हो ।

निःशुल्क भीपीएनहरुमा डाटाको सुरक्षा तथा गोपनियतासँग सम्बन्धित कमजोरीहरु रहेको अध्ययनहरुले देखाएको प्राधिकरणले जारी गरेको सूचनामा जनाइएको छ ।

फ्री भीपीएन प्रदायकहरूले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक संग्रह गर्ने र तेस्रो पक्षलाई बिक्री/वितरण गर्ने सम्भावना हुने भएकाले त्यस्ता भीपीएन जोखिमपूर्ण हुने प्राधिकरणले जनाएको छ ।

फ्री भीपीएन प्रदायकहरूले प्रयोगकर्ताका अनलाइन गतिविधि अनाधिकृत रूपमा निगरानी गर्ने सम्भावना रहनुका साथै त्यस्ता भीपीएनमार्फत इन्टरनेट प्रयोग गर्दा इन्टरनेटको गति तथा गुणस्तर कम हुने प्राधिकरणले जनाएको छ ।

फ्री भीपीएनका माध्यमबाट प्रयोगकर्ताका कम्प्युटर/मोबाइल डिभाइसमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रयोगकर्ताको प्रणाली र संवेदनशील डाटालाई हानी पु¥याउने सम्भावना रहनेबारे प्राधिकरणले सर्तक हुन अनुरोध गरेको छ ।