काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ११ वटा जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमास अर्थात, असोजसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बीमा कम्पनीहरुले यस पटक एनएफआरएस विधिबाट रिपोर्ट प्रकाशित गरेका हुन् । जीवन बीमा कम्पनीहरुको प्रदर्शन पहिलो त्रैमासमा निकै सन्तोषजनक देखिएको छ ।
रिपोर्ट अनुसार सबै कम्पनीहरुको नाफा बढेको छ । समग्रमा यिनीहरुको खुद नाफा ३०.५४ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष समग्रमा १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएका यी कम्पनीहरुले यस वर्षको असोजसम्म १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
बीमा कम्पनीहरुले लगानी तथा कर्जा, पोलिसी होल्डरहरुलाई कर्जा प्रवाहबाट आर्जन भएको ब्याज लगायत अन्य श्रोतबाट हुने आम्दानी बढ्दा नाफा बढेको जनाएका छन् । त्यसैगरी, यिनीहरुको बीमा शुल्क आर्जन पनि करिब १३ प्रतिशतले बढेको छ । असोजसम्म यिनीहरुले ३३ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यता, यिनीहरुको चुक्ता पूँजी ५० अर्ब ७ करोड रुपैयाँ भन्दा धेरै छ । त्यसैगरी, रिटन अर्निङमा १० अर्ब २ करोड ६५ लाख रुपैयाँ जम्मा रहेको छ ।
हिमालयनको खुद नाफा अरुको भन्दा धेरै
पहिलो त्रैमासमा हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफा २४ करोड १३ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३५ प्रतिशरले धेरै हो । गत वर्ष यसले १७ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरको थियो । यो अरु बीमा कम्पनीको भन्दा सबै भन्दा धेरै हो । त्यस्तै, नेपाल लाइफले १५ करोड ७९ लाख, नेशनलले १३ करोड, सन नेपालले १६ करोड ५३ लाख र सूर्यज्योतिले १३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समग्रमा बीमा कम्पनीहरुको नाफा गत वर्षको तुलनामा ३०.५४ प्रतिशले बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको थियो ।