काठमाडौं । पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । खेलको एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गरेका छन् । अध्यक्ष ओलीले ब्याटिङ गर्दा उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गरेका थिए।

त्यसपछि ओलीले पनि बलिङ गरे । उनको बलिङमा उपाध्यक्ष पौडेलले ब्याटिङ गरेका थिए । मदन भण्डारी रातोले टस जितेर फिल्डिङ रोज्दा बागमतीले ब्याटिङ सुरु गरेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा बागमती र आयोजक मदन भण्डारी स्पोर्ट्सको रातो टोलीबिच प्रतिस्पर्धा हुँदैछ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगिता ७ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुनेछ । गण्डकी समूह बीमा परेको छ । बी समूहमा एपिएफ र लुम्बिनी पनि छन् । यस्तै, समूह ए मा बागमती, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रेड छन् ।

समूह ‘सी’ मा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेस प्रदेश तथा समूह ‘डी’ मा आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ब्लु छन् । हरेक समूहको शीर्ष टोली सेमिफाइनल पुग्नेछ । १२ टिम सहभागी प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछन् ।