काठमाडौँ । सरकारले आन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत ६ वटा महानगरपालिकालाई कूल १० अर्ब ३१ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत राजस्व बाँडफाँड तथा वित्तीय अनुदान शीर्षकमा वित्तीय हस्तान्तरण गरेको हो ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत केन्द्र अर्थात् संघीय सरकारले प्रदेश र स्थानीय तहहरुलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षका अनुदान उपलब्ध गराउनेगर्छ ।
यस्तो चार शीर्षकमा गरी आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी अनुदान पाउने महानगरपालिका पोखरा बनेको छ । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७६करोड ३२ लाख रुपैयाँ पाएको छ ।
यसैगरी काठमाडौं महानगरपालिकाले २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाउँदा सबैभन्दा कम ललितपुर महानगरपालिकाले जम्मा १ अर्ब १३ करोड ८६ लाख रुपैयाँ पाएको छ ।
अन्य तीन महानगरपालिकाहरुले क्रमशः भरतपुर महानगरपालिकाले १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, वीरगञ्ज महानगरपालिकाले १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ र विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ पाएका छन् ।