काठमाडौँ । बजारमा दुध बिक्री नभएपछि मकवानपुरका दूध व्यवसायी किसान मर्कामा परेका छन् ।
सहकारी संस्थामार्फत दैनिक रूपमा दूध बिक्री गर्दै आइरहेका व्यवसायीले हप्तामा दुई दिन दूध बिक्री गर्न नपाउँदा उनीहरू मर्कामा परेका हुन् ।
मकवानपुरगढी गाउँपालिका–३ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दैनिक २४० किसानबाट चार हजार ८०० लिटर दूध संकलन गर्दै आएको थियो ।
तर हेटौँडा दुग्ध वितरण आयोजना र केही निजी डेरीले हप्तामा पाँच दिन मात्र दूध संकलन गर्नु भनी जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मार्फत मनकामना दुग्ध सहकारीलाई भनेपछि अहिले किसानहरू समस्यामा परेका हुन् ।
आर्थिक मन्दीको प्रभाव : दुध बिक्री नहुँदा किसान र व्यवसायी दुवै पलायन हुने सम्भावना बढ्यो
डेरी बन्द हुने भएपछि घरमा दूध व्यवस्थापन गर्न समस्या हुने किसानहरूले बताएका छन् । हप्तामा दुई दिन दूध संकलन नहुँदा मुख्यतः दैनिक २०० लिटरसम्म दूध बिक्री गर्दै आएका किसानलाई समस्या भएको मनकामना सहकारीका व्यवस्थापकले बताएका छन् ।
सहकारी मार्फत दूध बिक्री गर्ने करिब २४० जना यो समस्याबाट मर्कामा परेका सहकारीले जनाएको छ । यहाँ मात्र नभई मकवानपुरका विभिन्न सहकारी संस्था मार्फत दुग्ध व्यवसाय गर्दै आएका नौ हजार किसानले दूध नबिक्दा सास्ती झेलिरहेका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघले अहिले ६१ वटा दुग्ध सहकारी मार्फत दैनिक ५० हजार लिटर दूध खरीद गरी बिक्री गर्दै आएको छ । जसमध्ये अहिले १५ हजार लिटर दूध हेटौँडामा खपत भइरहेको छ भने २० हजार लिटर दूध ललितपुर, भक्तपुर र काभ्रे पठाउने गरिएको छ ।
दैनिक संकलित १५ हजार लिटर दूध भने खपत हुन नसकेपछि संस्थाले साताको पाँच दिन मात्र दूध संकलन गर्ने गरेको हो । एक दिन दूध बिक्री गर्न नपाउँदा व्यवसायीलाई ७१ लाख ५० हजार रुपैयाँ नोक्सान हुने संघले जनाएको छ ।
मकवानपुर जिल्लामा उत्पादन भएका सबै दूध खरीद गर्न सक्ने आयोजनाको क्षमता नै नभएको हेटौँडा दुग्ध वितरण आयोजना प्रमुखले बताएका छन् । आयोजनाले बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर जिल्लाका व्यवसायीले उत्पादन गरेको दूध संकलन गर्दै आएको छ ।
दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधान गर्न जिल्ला दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधिले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल लगायत मन्त्रीहरूलाई अनुरोध गरेका छन्।
संघका प्रतिनिधिहरूले मुख्यमन्त्री सहित बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री डा।राजेन्द्रमान श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन्। । त्यस्तै, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई समाधानमा आवश्यक सहजीकरण गरिदिन पनि आग्रह गरेका छन्।