काठमाडौँ । सोमबार गौशालामा भएको प्रसाईँ नेतृत्वको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

प्रसाईँ नेतृत्वमा भएको आन्दोलनमा सरिक भएका श्रीनिवासले उग्र अभिव्यक्ति दिएका कारण प्रहरीको निगरानीमा परेका थिए । आफ्ना समर्थकसहित गेरु वस्त्रमा त्रिसुल लिएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भूपेन्द्रका अनुसार उनले ‘भिडलाई उग्र बनाएपछि नियन्त्रणमा लिएको बताएका छन् ।

प्रसाईँले ७ मङ्सिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यस क्रममा उनले धार्मिक अतिवादी समूहहरूलाई समेत बोलाएका थिए । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटक पटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।

उनले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यस बेला पनि उनी पक्राउ परेका थिए । श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैँलाई गोली हान्न लगाएका समेत थिए ।