काठमाडौँ । टिकटक प्रतिबन्ध गरेको सरकार भित्रभित्रै थप सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ ।

नेपाल प्रहरीका अनुसार साउनदेखि कात्तिकबिचको अवधिमा म्यासेन्जर प्रयोग गरेर भएका साइबर अपराधका उजुरी तीन हजार ७७८ छन् । यस अवधिमा दोस्रो धेरै उजुरी टिकटकसँग सम्बन्धित छन् ।

टिकटकको माध्यम प्रयोग भएर अपराध भएको जिकिर गर्दै ५४८ वटा उजुरी परेको प्रहरीले जनाएको छ । टिकटकमा जस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि पनि सरकारले निगरानी सुरु गरेको एक सरकारी अधिकारीले बताएका छन् ।

सरकाराले बिगो लाइभ, स्न्यापच्याट, लाइकी, टिन्डर, टेलिग्रामजस्ता थप एपहरूमाथि निगरानी बढाइएको उनले स्रोतको जानकारी छ । बिगो लाइभ र लाइकी सिंगापुरमा रहेको बिगो टेक्नोलोजीजका लाइभ स्ट्रिमिङ र छोटा भिडिओ राख्न मिल्ने एप हुन् ।

भारतले सन् २०२० मा टिकटकसँगै बिगो लाइभ, लाइकीसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । अनलाइन डेटिङ एप टिन्डर र म्यासेजिङ एप स्न्यापच्याट अमेरिकी एप हुन् भने टेलिग्राम रुसी म्यासेजिङ एप हो ।

टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दर्ता भएका १० वटा मुद्दा विचाराधीन छन् । सर्वोच्च अदालतले सरकारी निर्णयको कानुनी आधारबारे सरकारसँग मङ्सिर २१ गतेभित्र लिखित जवाफ दिन भनी आदेश गरेको छ ।

स्न्यापच्याटमा पठाइएका तस्बिर र भिडिओहरू प्रापकले हेरिसकेपछि वा त्यसको केही समयपछि नै स्वतः डिलिट हुने सुविधाका कारण किशोर किशोरीहरूमाझ लोकप्रिय रहेको बताइन्छ । प्रधानमन्त्री कार्यालयले त्यसबाहेक थप एपहरूबारे पनि निगरानी भइरहेको जनाएको छ ।