काठमाडौं। सूचीकृत ९ जीवन र ८ निर्जीवन बीमा कम्पनीहरुले बीमा प्राधिकरणले तोके अनुसार थप चुक्ता पूँजी वृद्धि गर्नु पर्ने भएको छ । प्राधिकरणले २०७८ चैतमा जीवनलाई ५ अर्ब र निर्जीवनलाई साढे २ अर्ब पूँजी वृद्धि गर्न निर्देशन दिएको थियो ।
सोही अनुसार केही बीमा कम्पनीहरुले मर्जर गरेर भएपनि पूँजी बढाउने बाटो रोजेका थिए । तर मर्जरपछि पनि कुनै कम्पनीहरुको भने नियामकले तोके अनुसार पूँजी पुगेन । त्यस्ता, कम्पनीलाई भने प्राधिकरणले हकप्रद शेयर मार्फत पनि पूँजी बढाउन दिने भएको छ ।
त्यसैगरी, हालसालै प्रिमियम मूल्य थप गरेर आइपीओ बिक्री गरेका जीवन बीमालाई पनि ५ अर्बसम्म चुक्ता पूँजी बढाउन शेयर प्रिमियमको रकम प्रयोग गर्न दिइने प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिएका छन् । त्यसैले यी कम्पनीहरुलाई थप पूँजी वृद्धि गर्न सहज हुने भएको छ ।
तर, मर्जरमा नगएका कम्पनीहरुले भने हकप्रद शेयर वा बोनस शेयर वितरण गरेर पूँजी बढाउनु पर्ने देखिएको छ । तर, मर्जरमा नगएका कम्पनीलाई प्राधिकरणले हकप्रद जारी गर्न दिन्छ वा दिंदैन त्यो भने अहिलेसम्म जानकारी गराएको छैन । तर विदेशी लगानी रहेको एलआइसी नेपाल र बीमा कम्पनीकै ठूलो लगानी रहेको एनएलजीलाई भने प्राधिकरण हकप्रद जारी गर्न अनुमति दिएको छ ।
जीवन बीमा कम्पनी
हालसम्म तीनवटा जीवन बीमा कम्पनीले मात्र ५ अर्ब पूँजी पुर्याउन सफल भएका छन् । नेपाल लाइफ, हिमालयन र नेशनल लाइफले बीमा प्राधिकरण तोके अनुसार ५ अर्ब पूँजी पुर्याउन सफल भएका हुन् ।
जीवन बीमा कम्पनीहरु मध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
हाल यसको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । यसले उक्त हकप्रद जारी गरेपछि यसको पूँजी ५ अर्ब पुग्ने छ ।
त्यसैगरी, हालसालै प्रिमियम थप गरेर आइपीओ बिक्री गरेका सिटिजन, आइएमई लाइफ, सन नेपाल र रिलायबल नेपालले शेयर प्रिमियमा भएको रकम प्रयोग गरेर पूँजी बढाउने सक्ने छन् । तर, सन नेपालको भने शेयर प्रिमियमको सबै रकम वितरण गरेर पनि पूँजी नपुग्ने देखिएको छ ।
यी बीमा कम्पनीहरुले शेयर प्रिमियमबाट ४३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिन्छ । शेयर प्रिमियमबाट सिटिजनले ४१ प्रतिशत, आइएमई लाइफले ३८ प्रतिशत, रिलायबल नेपालले ४३ प्रतिशत र सन नेपालले ३९ प्रतिशतसम्म लाभांश बाड्न सक्ने क्षमता छ । यिनीहरुको नाफालाई पनि जोड्ने हो भने लाभांश क्षमता अझै बढ्नेछ ।
यता, प्राधिकरण मर्जरमा गएर पनि पूँजी बढाउन नसकेका कम्पनीलाई भने हकप्रद जारी गर्ने दिने जनाएको छ । त्यसैले, सूर्यज्योति र सानिमा रिलायन्सले पनि केही प्रतिशत हकप्रद जारी गर्ने सम्भावना छ ।
यता, प्रभु महालक्ष्मीको पनि चुक्ता पूँजी ५ अर्ब पुगेको छैन । यसले एफपीओ जारी गरेर भएपनि पूँजी बढाउने सम्भावना छ । यता, एशियनको भने हकप्रद वा मर्जर बीमा ५ अर्ब पूँजी नपुर्ने देखिएको छ ।
निर्जीवन बीमा कम्पनी
हालसम्म सूचीकृत ४ निर्जीवन बीमा कम्पनीहरुको मात्रै साढे २ अर्ब चुक्ता पूँजी पुगेको छ । बाँकी कम्पनीहरुको भने चुक्ता त्यो भन्दा कम छ । आइजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्स भने प्राधिकरणले तोकेको भन्दा धेरैको पूँजी रहेको छ ।
यता, एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमा नेशनल लाइफको लगानी रहेकोले यो बीमालाई हकप्रद शेयर जारी दिइएको बोर्डको भनाई छ ।
हकप्रदपछि यस कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुग्नेछ । बाँकी बोनस शेयर वितरण गरेर पनि यसले पूँजी बढाउन सक्नेछ ।
नेकोले पनि २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव राखेको छ । हकप्रद बिक्री गर्न अनुमति पायो भने यसको पूँजी साढे २ अर्ब पुग्नेछ ।
प्रभुले पनि हकप्रद बिक्रीको तयारीमा छ । बाँकी मर्जरमा गएर पनि बीमा प्राधिकरणले तोके अनुसार पूँजी पुर्याउन नसकेका कम्पनीहरुलाई भने प्राधिकरणले हकप्रद जारी गर्न दिने जनाएको छ । तर, नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा कम्पनीले भने कसरी पूँजी बढाउछ त्यस विषयमा भने अझै अन्योल छ ।