काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारी भइरहेको बताएका छन् । बिहीबार तारकेश्वर नगरपालिकास्तरीय पार्टीको प्रशिक्षण कार्यक्रममा ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा लैजान लागेको बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको एक वर्ष विकासको मोडालिटी र आर्थिक समृद्धिमा सरकारको ध्यान केन्द्रित हुने बताएका छन् । उनले एक वर्ष वर्तमान सरकारले निरन्तरता पाउँदा विकासको मोडालिटी र बजेटको विषयमा बेग्लै तरिकाले प्रस्तुत गरेको जिकिर समेत गरे ।
‘आगामी एक वर्षपनि यही सरकारले निरन्तरता पाउँछ’, प्रचण्डको भनाइ उदृत गर्दै प्रशिक्षणमा सहभागी एक नेताले भने, ‘आगामी आर्थिक वर्ष सरकार र विकासको मोडालिटीमा सरकारले ध्यान केन्द्रित गर्छ । अब म के के गर्छु हेर्दै जानुहोला ।’
‘नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पु¥याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन’, प्रधानमन्त्रीले भने, ‘पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।’
मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उनले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिए ।
यस्तै प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखेर हौसिएका प्रचण्डले यही रफ्तारमा विचार र कार्यशैलीको हिसाबले लिड गर्न सके २०८४ अघि नगरपालिका पार्टीको कब्जामा आउने दाबी गरे ।
‘पहिलो पटक उपस्थित भएको यस कार्यक्रममा कार्यकर्ताहरूको उपस्थिति, उत्साह र आत्मविश्वास देख्दा म निकै खुशी भएको छु । आगामी दिनमा अभियानलाई निरन्तरता दिन सक्यौं, विचार र कार्यशैलीको हिसाबले लिड गर्न सक्यौं भने २०८४ नपुग्दै यो तारकेश्वर नगरपालिका पार्टीको नियन्त्रणमा लिने विश्वास व्यक्त गर्छु’, प्रचण्डले भने ।
प्रशिक्षण कार्यक्रममा प्रचण्डले सरकारले गरेको काम, अभियानको उद्देश्य, पार्टीको आगामी योजना र कार्यक्रमबारे धारणा राखेका थिए ।
कार्यक्रममा नेता तथा कार्यकर्ताले क्षेत्र नं. ६ लाई पार्टीले उत्पीडनमा पारेको, २०७४ मा हिमाल शर्माको उम्मेदवार क्यानसिल गरी झक्कु सुवेदीलाई ल्याएको, शर्मालाई राष्ट्रिय सभा सदस्य बनाउने प्रतिबद्धता पुरा नगरेको, खानेपानी, विकास निर्माणमा सरकारले ध्यान नदिएको गुनासो पोखेका थिए । साथै नेकपा माओवादी केन्द्र विशेष प्रदेश कमिटी सदस्य रमेश देवकोटाले प्रधानमन्त्रीलाई मध्यवर्ती क्षेत्रबाट पिडित जनताको तर्फबाट ज्ञापन पत्र बुझाइएका थिए।