काठमाडौं । नबिल बैंकले एकैसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।

‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।


३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ भने कोशी प्रदेशमा १, मधेश प्रदेशमा ८, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २ वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका संचालक निर्वाण चौधरीले ८ वटा शाखाहरु उद्घाटन गरेका छन् । त्यस्तै, गरी बैंकका संचालक आशा राणा अधिकारीले थप ८ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७–७ वटा शाखाको उद्घाटन गरे ।

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ ।