काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ (आज) आइतबार बिहान बाँडफाँट भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल ३२ हजार ६४ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ५६ जना आवेदकले कम्पनीको आईपीओ पाएका छन् । लगानीकर्ताले १८० कित्तासम्म सेयर पाएका छन् ।

क्यापिटलका अनुसार आवेदन दिएका मध्ये आठ जनाको आवेदन रद्द भएको छ । यसैगरी, १० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम आईपीओ पाएका छन् ।

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो।

निकै ठूलो विवादमा परेको भए पनि कम्पनीको आईपीओले सुखद ओपनिङ गरेको थियो ।अब यसपछि कम्पनीले आगामी मंसिर २७ गतेदेखि सर्बसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ ।