काठमाडौं । ऋण लिएर गरेको व्यवसाय संकटमा परेका बेला बैंकहरुले ऋणीलाई सहयोग गर्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
पार्टीको मध्यपहाडी लोकमार्ग यात्राका क्रममा आइतबार नुवाकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बैंकहरु निर्मम साहुजी र मिटरब्याजीजस्तो हुन नहुने बताएका हुन् ।
‘अहिलेको अवस्थामा ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ । रिस्टक्चरिङ गर्नुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अफ्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ’, ओलीले भने, ‘कहिले कहिले व्यवसाय डुब्न लाग्यो भने सहायता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ ।’
अध्यक्ष ओलीले भने, ‘अफ्ठ्यारोमा प¥यो भनेदेखि, धकेलदियो भने यो गज्जबको जग्गा रहेछ लिलामीमा गयो भने यो कम्पनीले किन्छ, यस्तो मान्छेले किन्छ, महँगोमा बेच्न सकिन्छ लिलाम गरिहालौं भन्ने खालको भन्ने तरिका उपयुक्त हुँदैन । बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन बैंकले विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्नुपर्छ ।’
वचतकर्ताले बैंकमा जम्मा पारेको रकम कसैले ऋण लिइदिए मात्र बैंक चल्न सक्ने भन्दै ओलीले बैंकहरुले ऋणीको महत्व बुझ्नुपर्ने बताए । ‘लोन लिए न बैंक चल्छ, पैसा थुपारेर बैंकले के गर्छ ? डिपोजिट गर्नेहरुको ब्याज कसरी फिर्ता गर्छ ? अहिले ऋण लिनेहरू फालाफाल भएको हुनाले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझेका छैनन् । ऋण लिनेले नै हो बैंकहरु चलाइदिने, ब्याज तिरिदिने, पैसा गतिशील बनाइदिने त्यसकारण यो सम्बन्ध तनावको रुपमा होइन सुमधुर सम्बन्धनको रुपमा बनाउनुपर्छ’, ओलीले भने ।
एमाले अध्यक्ष ओलीले बैंकहरुले आफुखुशी ऋणको ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने पनि बताए । ‘बैंकहरुबाट जुन शर्तमा ऋण दिएको छ त्यो शर्त पालना हुनुपर्छ । कुनै कारणवस त्यो शर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ । तर, घट् भन्ने त लेख्या मात्रै हो कहिल्यै हुँदै हुँदैन । बढ् मात्रै हुने हो । त्यो बढ् एकलौटी बढ्न नपाउने व्यवस्था हुनुपर्छ’, ओलीले भने।