काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देशको बढ्दो बीमा आवश्यकताहरु पूरा गर्ने मुख्य उद्देश्यका साथ नेपाल कम्पनी ऐन १९६४ र नेपालको बीमा ऐन १९६८ अन्तर्गत सन् १९८८ मा स्थापना भएको थियो । यसले तीन दशकभन्दा बढी समयदेखि ग्राहकको सेवाको उच्चतम स्तरमा विश्वास गर्ने रुपमा प्रतिष्ठा निर्माण गरेको कम्पनीको भनाई छ ।
हाल यस कम्पनीको देशभरी १०० भन्दा धेरै शाखा कार्यालय रहेको छ । कम्पनीले विभिन्न योजनाहरु उपलब्ध गराउँदै आएको छ । यसको कुल एजेन्ट संख्या ७५ हजार ७२५ रहेको कम्पनीले जनाएको छ । यस कम्पनीको बोनस रेट ६३ देखि ८५ प्रतिहजार रहेको छ ।
यसले विभिन्न १९ पोलिसी सार्वजनिक गरेको छ । जसले गर्दा ग्राहकहरुले कम्पनीबाट अधिक लाभ लिन सकेका छन् । प्रेमा राज्य लक्ष्मी सिंह यस कम्पनीकी अध्यक्ष हुन । सुरेश प्रसाद खत्री प्रमुख कार्यकारी अधिकृत छन् ।
यता, नेप्सेका अनुसार यसको कुल पुँजीमध्ये ३५ प्रतिशत साधारण शेयर र बाँकी संस्थापक शेयर हिस्सा रहेको छ । जीवन बीमा कम्पनीमध्ये लगानीकर्ता माझ यसको आकर्षण पहिलादेखि नै राम्रो रहँदै आएको छ । यसले शेयरधनीलाई वितरण गर्ने लाभांशको कारण पनि लगानीकर्ताहरुको पहिलो रोजाइमा कम्पनी रहेको लगानीकर्ताहरुले बताउने गरेका छन् ।
लाभांश
नेशनल लाइफ इन्स्योरेन्सले पछिल्लो १२ वर्षमा औसत २६.१५ प्रतिशत लाभांश वितरण गरेको छ । यो तुलनात्मक रुपमा अरु बीमा कम्पनीहरुको भन्दा धेरै हो । बीमा कम्पनीहरुले पछिल्लो समय प्रतिफल दिन नसक्ने अवस्था रहेको बेला नेशनलले भने हरेक वर्ष डबल डिजिट प्रतिफल दिंदै आएको छ ।
यसले सबै भन्दा धेरै आर्थिक वर्ष २०६९-७० मा ७२.५० प्रतिशत लाभांश वितरण गरेको छ । सबै भन्दा कम २०७५-७६ मा १०.५३ प्रतिशत प्रतिफल वितरण गरेको देखिएको छ ।
वित्तीय विवरण
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस इन्स्योरेन्सले १३ करोड २ लाख खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यसको उक्त नाफा १२ करोड ९९ लाख थियो ।
नेशनलको लगानी तथा कर्जाबाट हुने आम्दानी ९७ करोड ९९ लाखबाट बढेर १ अर्ब ३५ करोड ११ लाख पुगेको छ । त्यसैगरी, पोलिसी होल्डरबाट संकलन गरेको ब्याजबाट २१ करोड ६१ लाख आम्दानी गरेको छ । गत वर्ष १७ करोड ७० लाख थियो ।
यस कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीले खर्च पनि कटौती गरेको छ ।
यसको प्रथम बीमा शुल्क संकलन ८४ करोड २७ लाखबाट बढेर ९० करोड ७२ लाख पुगेको छ । तसर्थ, यसले नयाँ व्यापार पनि बढाएको छ । यसको अन्य आम्दानी, कमिसन पनि बढेको छ ।
कम्पनीको बीमा शुल्क संकलन ४ अर्ब १० करोड रहेको छ । प्रतिशेयर आम्दानी १० रुपैयाँ ४० पैसा रहेको छ । नेटवर्थ भने १२९ रुपैयाँ १२ पैसा देखिएको छ । हाल नेशनलको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ४९ करोड ८ लाख छ । शेयर प्रिमियममा २ करोड ७८ लाख जम्मा रहेको छ । जीवन बीमा कोषमा भने ६८ अर्ब ८ करोड २४ लाख रहेको छ । यसले बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पुँजी सहजै पुर्याएको छ ।
प्राविधिक विश्लेषण
आइतबार नेशनल लाइफको शेयर भाउ ५.३० प्रतिशतले बढेर ६००.१० रुपैयाँ पुगेको छ । प्राविधिक विश्लेषण गर्दा प्रयोग गरिने तीन महत्वपूर्ण इन्डिकेटर बोलिन्जर ब्यान्ड, एमएसीडी र आरएसआइले पनि निकै राम्रो संकेत गरेका छन् ।
कम्पनीक भाउ बोलिन्जर ब्यान्डको अपर ब्यान्ड भन्दा माथि गएको छ । यसर्थ, यसको बजारमा भोलाटालिट धेरै बढेको छ । अपर ब्यान्ड ५८८ विन्दुमा छ । नेशनलको सेय भाउ ६०० रुपैयाँ पुगेको छ । यो ब्यान्ड भन्दा माथि रहेसम्म यसले बुलिस संकेत गरको छ ।
त्यसैगरी, एमएसीडी र सिग्नल लाइन पोजेटिभ भएको छ । यता, हिस्ट्रोग्रामा पनि पोजेटिभ छ । एमएसीडी लाइन सिंग्नल लाइन भन्दा माथि हुन पोजेटिभ संकेट मानिन्छ । यसले कम्पनीले बुल समातेको अंकित गर्छ ।
यता, स्ट्रेन्थ नाप्ने आरएसआई ६ महिनायताकै उच्च विन्दुमा छ । आरएसआई ६८.५७ विन्दुमा छ । ७० माथि पुगेपछि यसले बुलिस समातेको मान्न सकिन्छ ।
चार्ट हेर्दा कम्पनीले हाएर हाई बनाउदै अघि बढेको देखिएको छ । ४११ को विन्दुबाट कम्पनीको शेयर भाउ बढेर ६०० सम्म पुगेको छ । यो ५० प्रतिशत भन्दा धेरैको वृद्धि हो । गत जुनदेखि यसको भाउ लगातार बढेको छ ।
अगामी दिनमा यसको सपोर्ट ५४१ रुपैयाँ रहेको छ । प्रतिरोध भने ६१२ रुपैयाँ रहेको छ । अर्को प्रतिरोध ६२२ रुपैयाँमा छ । त्यो एरिया ब्रेक भएपछि यसले ६७२ रुपैयाँसम्म सहजै पुग्न सक्ने देखिएको छ ।