काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यका क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकासहित त्यहाँका पर्यटकीय क्षेत्रमा बिजुली विस्तार गर्न मागसहित आएको पर्यटन व्यवसायी लगायतको टोलीसँग पोखरामा मन्त्री बस्नेतले सरकार दुई वर्षभित्रमा देशका सबै भूभागमा बिजुली पुर्याउने गरी काम गरिरहेको र विशेषरुपमा पर्यटकीय क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल तथा खुमै पर्यटकीय गन्तव्यमा अझै पनि केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैनन्। यहाँका अन्य स्थानमा समेत जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीमा भर पर्नुपर्ने अवस्था छ ।
मर्दी पदयात्रामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुग्न नसक्दा बत्ती बाल्नदेखि लिएर मोबाइल चार्ज गर्नसमेत पर्यटकलाई समस्या भएपछि पर्यटन व्यवसायीले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए ।
ऊर्जा मन्त्री बस्नेतले भने, “कुनै पनि क्षेत्रको विकासका लागि विद्युत् सबैभन्दा महत्त्वपूर्ण हुन्छ । सरकारले विद्युत् र सिँचाइको व्यवस्था हरेक नागरिकसम्म पुगोस् भनेर काम गरिरहेको छ ।” मर्दीको कालीमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत् सेवा पुगेको छ भने प्राधिकरणले यसै वर्ष विद्युत् विस्तारको काम अघि बढाएको छ ।
मर्दीको माथिल्लो क्षेत्रसम्मै बिजुली पुर्याउनका लागि नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयले ठेक्का आह्वान गरेर काम अघि बढाएको छ । मर्दी पर्यटन व्यवस्थापन समितिका संस्थापक सचिव शिवप्रसाद भण्डारीले माछापुच्छ्रे गाउँपालिकालाई पूर्ण विद्युतीकरण गर्न ऊर्जा मन्त्रीसँग माग गरिएको बताए ।
उनका अनुसार मर्दी पदयात्रामा केही समयदेखि काम सुरु भए पनि अर्को पर्यटकीय गन्तव्य खुमै डाँडामा अझै बिजुली पुग्न सकेको छैन । विद्युत् नहुँदा पदयात्रामा आउने पर्यटकलाई मोबाइल र क्यामरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन भएको उनले बताए ।