काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को चौमासमा कुल वस्तु निर्यात ७.७ प्रतिशतले घटेको छ। जसअनुसार निर्यात रु ५० अर्ब ५७ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ। यस्तै पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात भने घटेको छ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आएको छ । तर, निर्यात भन्दा आयात निकै धेरै अर्थात रु.५१२ अर्ब ५० करोड रहेको बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ । यस्तै चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात भने बढेको छ ।

यस्तै कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको बैंकले सार्वजनिक गरेको तथ्यांमा उल्लेख छ ।

आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । बैंकका अनुसार चार महिनामा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई रु ४६१ अर्ब ९४ करोड कायम भएको छ ।