काठमाडौँ । चार महिनाको अवधिमा सरकारले ३५५ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेर सकेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी रिपोर्टअनुसार चार महिनामा नेपाल सरकारको कुल खर्च रु.३५५ अर्ब ६३ करोड भएको हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा २३.३ प्रतिशतले बृद्धि भएको छ । चालु खर्च रु २७१ अर्ब १७ करोड, पुँजीगत खर्च रु २९ अर्ब ९९ करोड वित्तीय व्यवस्था खर्च रु ५४ अर्ब ४७ करोड रहेको छ ।
यस्तै सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर) रु २७६ अर्ब ६४ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व ३.० प्रतिशतले बढेको बैंकले जनाएको छ ।
यस अन्तर्गत कर राजस्व रु २५४ अर्ब ३० करोड र गैर कर राजस्व रु २२ अर्ब ३४ करोड परिचालन भएको छ । यस्तै कात्तिक मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु १५२ अर्ब ४० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।
२०८० असार मसान्तमा यस्तो मौज्दात रु ७१ अर्ब ९८ करोड रहेको बैंकको भनाइ छ। यसै गरी प्रदेश सरकारहरूको कुल खर्च रु २३ अर्ब ७६ करोड र स्रोत परिचालन रु ४३ अर्ब ३३ करोड रहेको छ ।
प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु ३० अर्ब ३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु १३ अर्ब ३१ करोड रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख भएको छ ।