काठमाडौँ । लिखत कीर्त्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले छुट्टाछुट्टै ठाउँबाट २ जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौँ बौद्ध बस्दै आएका ४२ वर्षीय दिलबहादुर घिसिङ तामाङ (डिले) र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई कागेश्वरी काठमाडौँमा बस्दै आएका ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन् ।
केही व्यक्तिहरुले लिखत कीर्त्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले दिलबहादुरलाई काठमाडौँको कालीमाटी र आइतसिंहलाई मनोहरा नगरपालिका–१ बम्ह्रखेलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको साथबाट बाग्मती प्रदेश ०१–०२५ च २७५९ नम्बरको कारको ब्लु बुक एक थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र चार थान, कार पाँच वटा, विभिन्न सरकारी कार्यालयका छाप चार थान र मोबाइल दुई थान बरामद गरी लिखत किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया सुरु भएको प्रहरीको भनाई छ ।