काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा एनसेलको शेयर खरिद बिक्रीमा कहिँ न कहिँ गडबडी भएको बताएका छन ।
प्रचण्डले भने ‘कहिँ न कहिँ गडबडी छ, यस बिषयमा उच्चस्तरीय समितिले काम गरिरहेको छ। यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो।’
‘मैले दुबईमा नै सुने र भोलिपल्ट नै फर्किए । त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिए । मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुपर्यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो ।
बैठकमा एनसेल खरिद विक्री प्रकरण, सरकारले दिने सुशासनको अवस्था र सङ्घीय निजामती ऐन लगायत समसामयिक विषयमा छलफल भएको छ ।
एनसेल प्रकरणबारे प्रचण्डले भने
म कोप सम्मेलनका लागि दुबईमा भएको बेला एनसेल शेयर न्यून मूल्याङ्कन गरी खरिद बिक्रीको कुरा सुने । भोलिपल्टै म नेपाल फर्किएर मुख्य सचिवलाई बोलाएर हाम्रो ऐन कानुन अनुसार, हाम्रो कर कानुन अनुसार ठिक छ कि छैन भन्ने बारेमा विज्ञप्ति जारी गराए । मैले सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई पनि निर्देशन दिएँ । यसबारे अध्ययनका लागि १ महिनाको समय दिएर टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति बनाएको र समितिले काम थालिसकेको छ । समितिले दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व कार्यालय लगायतका निकायबाट सम्पूर्ण विवरण मागेर काम थालेको छ । यसमा केही न केही भएको छ भनेर नै छानबिन समिति बनाएको हो । नेपालको कानुन विपरीत केहि भएको रहेछ भने हदैसम्मको कारबाही गर्नेछौ ।