काठमाडौं । जय अम्बे स्टिल्सले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले गरेको निर्णयअनुसार कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजान लागेको हो ।
कम्पनीले पुस २६ गतेका लागि साधारणसभा बोलाएको छ । सञ्चालक समितको निर्णय साधारण सभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट पेस भएको प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने तथा गत आर्थिक वर्षको नाफा(नोक्सान हिसाब, नगद प्रवाहको विवरणसहितका लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ ।
त्यस्तै सञ्चालक समिति गठनका साथै अधिकृत पुँजी बढाउने निर्णय पनि सभाले गर्ने भएको छ । अहिले वास्तविक क्षेत्र सेयर बजारमा प्रवेश गर्ने क्रम बढेको छ । शिवम्, घोराही, सोनापुर सिमेन्टलगायत दोस्रो बजारमा सूचीकृत भइसकेका छन् भने सर्वोत्तम सिमेन्टको निष्कासन प्रक्रियामा छ ।