काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डमा यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । उक्त सडक खण्डमा पर्ने तुइन खोलामा पुल निर्माण गर्नका लागी सवारी आवागमन बन्द गरिएको हो ।
पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नाग ढुङ्गा(मुग्लिन सडक आयोजना पश्चिम खण्ड )नारायणगढ , मुग्लिनले आज एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको हो ।
नारायणगढबाट मुग्लिङतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्र किलो बजारदेखि जुगेडीसम्म रोकिने छन् भने मालबाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।
यसै गरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावर हाउससम्म र मालवाहक सवारीसाधनलाई सत्र सय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।
उक्त सडक अन्तर्गतका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएका छन् भने बाँकी १५ पुलको काम एकै साथ थालिएको छ ।