काठमाडौं । दुई महिना अगाडि जम्बो टोली लिएर दुई साता लामो अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त भ्रमणका निमिक्त पौने ५ करोड रुपैयाँ खर्च गरेको खुल्न आएको छ ।

अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ ।

यो रकम अर्थ मन्त्रालयलले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो । प्रधानमन्त्री गत भदौ ३० देखि असोज ४ गतेसम्म संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका थिए ।

उतैबाट उनी ५ असोजमा चीन पुगेका थिए । सो क्रममा उनी एसियन गेमको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि उनले चीनका विभिन्न राज्यको भ्रमण गरी स्वदेश फर्किएका थिए । मुलुकमा आर्थिक मन्दी लागिरहेको बेलामा दुई साता लामो घुमफिरमा निस्किएको भन्दै उनको आलोचना भएको थियो ।