काठमाडौं। ग्राहम नम्बरका आधारमा सिटिजन्स बैंक अन्डर भ्यालू देखिएको छ । ग्राहम नम्बर प्रतिशेयर आम्दानी र प्रतिशेयर बुक भ्यालुका आधारमा शेयरको आधारभूत भ्याल्यू मापन गर्दछ । ग्राहम नम्बर भनेको लगानीकर्ताले कुनै निश्चित स्टकका लागि तिनुपर्ने अधिकतम मूल्य निर्धारण गर्ने एक मेट्रिक हो ।
सोही आधारलाई हेर्दा सिटिजन्स बैंक १६ प्रतिशत सस्तोमा पाइएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार यसको शेयर भाउ १८४ रुपैयाँ रहेको छ । ग्राहम नम्बरले प्रतिशेयर आम्दानी र नेटवर्थका आधारमा शेयरको अधिकतम मूल्य निर्धारण गर्ने गर्छ । तसर्थ, ग्राहम नम्बर भन्दा कम शेयर भाउ भएका सबै कम्पनीहरु लगानीका लागि उचित मानिन्छन् ।
बैंकको बारेमा
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड २०६४ मा स्थापना भएको हो । यो प्रतिष्ठित व्यक्तित्वहरु, व्यापार र औद्योगिक घरानाहरु र उच्च सामाजिक स्थिति भएका प्रतिष्ठित व्यक्तिहरु द्वारा प्रवर्द्धन गरिएको छ । र, अनुभवी बैंकरहरु र पेशेवरहरुको एक टोली द्वारा व्यवस्थित गरिएको छ।
बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ८२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । बैंकको सीइओमा गणेश राज पोखरेल रहेका छन् । अध्यक्ष प्रबल जङ्ग पाण्डे रहेका छन् ।
यसले आफ्ना ग्राहकहरुलाई निकै राम्रो सेवा दिदैं आएको बैंकको दाबी छ । यो बैंकले केही विकास बैंकलाई गाभेर आफ्नो शाखा विस्तार गर्दै व्यापार बढाएको देखिएको छ ।
स्वच्छ छवि भएको बैंक
केही बैंकहरुले ऋणहरुलाई त्रास देखाए कर्जा असुल गर्ने घट्नाहरु सार्वजनिक हुँदै गर्दा सिटिजनको भने त्यस्ता घटना सुनिदैन ।
लाभांश वितरण दर
सिटिजन्स बैंकको आर्थिक वर्ष २०६७/६८ यता यसको औसत लाभांश वितरण दर १३.०५ प्रतिशत देखिएको छ । यसले सबै भन्दा धेरै आर्थिक वर्ष २०७१/७२ मा २१.०५ प्रतिशत लाभांश दिएको थियो । बैंकले शेयरधनीलाई हरेक वर्ष लाभांश वितरण गरेको इतिहास छ । बाँकी केही बैंकहरुले गत वर्षको नाफाबाट लाभांश दिन नसकेको अवस्थामा यसले भने शेयरधनीलाई प्रतिफल वितरण गरेको छ । देशमा देखिएको आर्थिक मन्दी र बढ्दो खराब कर्जा कारण बैंक तथा वित्तीय संस्थाहरुको अवस्था पहिलाको भन्दा खराब बनेको छ । तर, यस्तो अवस्थामा पनि सिटजन्सले शेयरधनीलाई प्रतिफल दिन सफल भएको छ ।
वित्तीय अवस्था
सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ५० करोड १२ लाख नाफा आर्जन गरेको थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा प्रभाव परेको हो । यसले असोजसम्म १ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । चुक्रा पूँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ जम्मा छ । यता, सिटिजन्सले ४ महिनामा ५८ करोड २० लाख नाफा कमाएको रिपोर्ट नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
पहिलो त्रैमासका आधारमा यसको आरओई १०.२९ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा छ । बुक भ्यालू १४३.७७ रुपैयाँ रहेको छ।
प्राविधिक विश्लेषण
सिटिजन्स बैंकको समग्र टेक्निकल चार्ट हेर्दा यसले सकारात्मक संकेत देखाएको छ । विश्लेषण गर्दा प्रयोज गरिने बोलिन्जर ब्यान्ड, एमएसीडी र आरएसआईले पनि बुलिस साइन देखाएका छन् । बोलिन्जर ब्यान्ड फराकिलो हुँदै गएको छ । जब माथिल्लो ब्यान्ड र तल्लो ब्यान्डको दूरी बढ्छ तब यसमा भोलाटालिटी बढेको बुझ्न सकिन्छ । जुन निकै राम्रो संकेत हो ।
यता, एमएसीडी लाइन पनि बढेको छ । यसले सिग्नल लाइनलाई क्रस गरेर माथि बढेको छ । जुन पोजेटिभ हो ।
आरएसआई पनि ६६ विन्दुमा छ । यसले पनि बुलरनमा बैंक प्रवेश गरेको बुझ्न सकिन्छ । बैंकको आगामी दिनको प्रतिरोध १९३ मा रहेको छ । यसको १८० को एरियामा रहेको छ । यदि बैंकले रेसिस्टेन्सलाई ब्रेक गर्छ भने शेयर भाउ २०० रुपैयाँ माथि जाने सम्भावना धेरै देखिन्छ ।