काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरि ध्यानमा राख्दै सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिङ्गल) योजना ल्याएको छ ।

कम्पनीले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिङ्गल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको एक विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

यो योजनाले न्यून बीमाशूल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन समेत गर्दछ । यसको प्रमुख विशेषता भनेको रेगुलर बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा रु ४५ प्रति वर्ष प्रति हजार र सिङ्गल बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा रु ५० प्रति वर्ष प्रति हजार ग्यारेन्टी रिटर्न हो ।

कम्पनीका अनुसार यो बीमालेख १८ वर्ष देखि ६० वर्ष उमेर सम्मको ग्राहकले खरिद गर्न सक्नेछन् । कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बीमालेखमा न्यूनतम बीमांक रकम रु दश हजार रहेको छ ।

बीमितले आफ्नो सुविधा अनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा बीमाशूल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन् । कम्पनीका अनुसार बीमा अवधि पुरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमांक रकम तथा ग्यारेन्टी गरिएको रकम एकमुष्ट भुक्तानी पाउनेछन् ।