काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदीय जिम्मेवारी बहन गर्न असक्षम रहेको भन्दै उनलाई असोज ४ गते लिखित ११ बुँदे स्पष्टीकरण सोधेका थिए । असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनलाई ३ महिनाका लागि निलम्बन गरिएको थियो ।

सोही निलम्बन विरुद्ध डा.बसौला १७ कात्तिकमा सर्वोच्च गएका थिए । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले डा.बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।