काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) ले आज विद्युतीय भोटिङमार्फत नयाँ नेतृत्वको चयनको तयारीमा रहेको छ।
संघको ४ वर्षे नेतृत्वका लागि १९ सदस्य सञ्चालक समिति र ३ जना लेखा समितिसहित कूल २२ सदस्यका लागि चुनाव हुने नेफ्स्कूनले जनाएको छ । निर्वाचन उपसमितिका अनुसार आइतबार दिउँसो १ बजेदेखि विद्युतीय माध्यममार्फत नेफ्स्कूनको निर्वाचन हुनेछ ।
भोटिङलगत्तै प्राप्त नतिजा प्रकाशन गरिने निर्वाचन उपसमितिले जानकारी दिएको छ । नेफ्स्कूनको भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष परितोष पौडेल र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।
उसो त अध्यक्षमा मात्र नभई अन्य पदाधिकारी तथा सञ्चालक समिति सदस्य र लेखा समिति सदस्यमा समेत पौडेल र ढकालले आ–आफ्नो छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा उत्रिएका छन् । खासगरी सहकारी क्षेत्रमा क्रियाशील नेकपा एमाले निकट अभियन्ताहरुको समर्थन पौडेल प्यानललाई रहेको छ
भने सत्तापक्ष गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतको समर्थन ढकाल प्यानललाई रहेको छ ।