काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले इमानदार, पारदर्शी र समर्पित भएर काम गर्दा केही स्वार्थ समूह आफू विरुद्ध खनिएको बताएका छन् ।
बागमती प्रदेश काँग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका महतले आफूले स्वार्थ समूहका लागि काम नगर्ने बताउँदै देश र जनताका लागि काम गरेको उल्लेख गरेका हुन् ।
‘इमानदार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह मेरा विरुद्ध खनिएका छन् । जहाँ पुग्न पनि सहज छ अचेल, यसले खत्तम गर्यो भनेर दौडादौड गर्नेको यहाँ कमी छैन ।’ उनले भने, ‘पार्टीभित्र सङ्घर्ष गर्दै, नेविसंघको राजनीति मार्फत म यहाँ आइपुगेको हुँ, मेरो जरा कहाँ छ, कसको कारणले म यहाँ छु भन्ने कुरा मैले भुलेको छैन ।
इमानदार, पारदर्शी र समर्पित भएर देश र जनतालाई केन्द्रविन्दूमा राखेर काम गरिरहेको छु र गर्छु ।’
आफू धेरै नकारात्मक परिस्थिति भएको अवस्थामा अर्थमन्त्री बनेको र दुई महिना कम बजेट बनाउने समय रहेको उनले बताएका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समयभन्दा अगाडिदेखि नै समस्या चुलिन थालेको भन्दै मन्त्री महतले भने, ‘बिना प्राथमिकताका ठेक्कामुखी आयोजनाहरू अगाडि बढाइएको थियो । समस्याको पहाड थियो । कोभिडका बेला मौद्रिक नीति सरल बनाइयो, ऋण उपयोग गर्ने ठाउँ नै थिएन ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र एकता भयो भने बहुमत ल्याउन काँग्रेसलाई कसैले रोक्न नसक्ने समेत बताए । नेपाली काँग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको उनले औँल्याए।
पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी रहेको प्रवक्ता एवम् मन्त्री डा.महत बताएका छन् । त्यसपछि निस्केको निष्कर्ष जनताको बिचमा प्रस्तुत हुन जरुरी छ ।’ बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली काँग्रेसको समस्या बनेको छ अर्थमन्त्री महतले भने ।