काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पाचौं महिना महिनाको अन्तिम सम्ममा मुलुकको व्यापार घाटा पौने ६ खर्ब पुगेको छ । वैदेशिक व्यापारमा गिरावट आउँदा व्यापार घाटा घटेको हो ।
आर्थिक गतिविधिमा वृद्धि हुन नसक्दा आयात तथा निर्यात दुवै घटेका छन् । भन्सार विभागका तथ्याङ्क अनुसार यस अवधिमा नेपालले ५ खर्ब ७९ अर्ब १५ लाख व्यापार घाटा व्यहोरेको छ । यो व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा भन्दा ३.०९ प्रतिशतले कम हो ।
गत वर्ष सोही अवधिमा नेपालले ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो । मङ्सिर महिनासम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
अघिल्लो वर्षको तुलनामा वैदेशिक व्यापार ३.६४ प्रतिशत रहेको छ । मङ्सिर महिनासम्ममा आयात निर्यात दुवै घटेको छ । यस अवधिमा आयात ३.३९ प्रतिशतले घटेको छ भने निर्यात ६.०९ प्रतिशतले घटेको छ ।
भन्सार विभागको मङ्सिर महिनासम्मको तथ्याकंलाई केलाउँदा मङ्सिर महिनासम्ममा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्ष सोही अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।
त्यसै गरी मङ्सिर महिनासम्मको अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको तथ्याकंमा उल्लेख छ ।