काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल नतिरेको नाममा उद्योगको लाइन काट्ने विषय गलत भएको बताएका छन् ।
एमालेको झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आज आयोजित कार्यक्रममा ओलीले उद्योगी व्यवसायीले आफूलाई पनि ज्ञापन पत्र दिएको भन्दै यो विषयको उठान गरेका थिए।
ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइन जोडे पनि त्यस अनुसार विद्युत् नदिएको तर महसुल मात्र बढी लिएको भन्दै त्यो गलत भएको बताएका छन्। ‘यो सरकारले बुझ्न के पर्यो भने डेडिकेटेड, ट्रंकलाइन जोडेर विद्युत् आपूर्ति गरेको छ भने आपूर्ति गरेको जति महसुल लिनुस्, लाइन जोडेको छ बिजुली दिएको छैन भने केको पैसा उठाउने? ओलीले प्रश्न गरे ।
अहिले उद्योगी व्यवसायी आर्थिक समस्याका कारण तड्पिरहेको भन्दै भन्दै अध्यक्ष ओलीले भने, ‘आफैँ बन्द हुँदै छन्, झन् लाइन काटेर उद्योग बन्द गरिदिने? डेडिकेटेड र ट्रंकलाइन विवादलाई संवादमार्फत हल गर्न पनि उनले सरकारलाई आग्रह गरे । ‘लिने दिनेबिचमा संवाद गर्न नसकिने भन्ने छैन, उहाँहरूको संगठन छ, सरकारका निकाय होलान् त्यो भन्दा माथि सरकार होला । यिनका बिचमा संवाद गरेर । खपत गरेको विद्युतको महसुल लिने’ ओलीले भने।
नेपाल विद्युत् प्राधिकरणले २०७३ सालअघि लोडसेडिङ हुँदा उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत बिजुली आपूर्ति गरेको थियो । यसरी दिएको बिजुलीको महँगो शुल्क लिने गरेको थियो । तर उद्योगी व्यवसायीले प्राधिकरणले थाहै नदिई डेडिकेटेड र ट्रंकलाइनको बिजुली जोडेको र महँगो महसुल असुल्न खोजेको भन्दै उक्त समयको महसुल तिर्न अस्वीकार गरेका छन् ।