काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले विमानस्थलबाट मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष बुझाएको छ ।

हप्ता दिन अगाडि विमानस्थलबाट १४ किलो सुन फेला परेको थियो । १४ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि गठन भएको समितिले  मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष  निकाल्दै प्रतिवेदन बुझाएको हो ।

भन्सार कार्यालयले मङ्सिर २२ गते दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो । उक्त घटनामा गोरखाका मीनबहादुर घले समेत पक्राउ परेका थिए । समितिले अध्ययनको क्रममा मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाइको छ ।

१३८ मध्ये पछिल्लो पटक १४ केजी मात्र सुन पक्राउ परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । मीनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले पटक पटक गरी १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मीन घलेले एयरपोर्टको सेटिङ मिलाउन डिवी भनिने दनबहादुर गुरुङलाई प्रयोग गरेको छानबिन  समितिको ठहर छ । विमानस्थलबाट सुन बाहिर निकाल्न एयरपोर्टमा करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको समितिको भनाइ छ ।

एयरपोर्टबाट बाहिरिएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौँको टोखा नगरपालिका, बानियाटार सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुर्‍याउने गरेको र यो सुन मीनबहादुर र उनका साथी जीवन गुरुङले अंकितले भनेको स्थानमा पुर्‍याउने गरेको समितिको प्रतिवेदनमा समावेश गरिएको छ ।