काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

शुक्रबार (पुस ६ गते) बसेको सञ्चालक समितिको बैठकले ५.५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । प्रस्तावित नगद लाभांश बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

यता, बैंकले नगद लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा पनि बोलाएको छ । सभा दरबारमार्य स्थित बैंकको आफ्नै सभाहलमा दिउँसो २ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने जनाएको छ ।