काठमाडौं । ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले थप ५ उद्योगको लाइन काटेको छ । प्राधिकरणले आज थप ५ उद्योगको लाइन काटेको हो ।
प्राधिकरणका अनुसार आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर सिमेन्ट, अशोक स्टिल र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिएको हो ।
उनका अनुसार सर्वोत्तमले ८३ करोड, लक्ष्मी स्टिलले ६२ करोड महसुल तिर्न बाँकी छ । अन्य उद्योगले पनि ५० करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको घिसिङले जानकारी दिए ।
प्राधिकरणले शनिबार डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो ।
प्राधिकरणका अनुसार जगदम्बाले ४ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड र अर्घाखाँचीले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी छ ।
प्राधिकरणका अनुसार ६१ वटा कम्पनीले ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिएर बक्यौता तिरेका छैनन् । साँवा २० अर्ब तथा ब्याज र जरिवाना करिब ५ अर्ब रुपैयाँ गरी ती उद्योगले २५ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।