काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सहकारीमार्फत जनताको रकम अपचलन गर्ने जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने समितीका सदस्यहरुले भनाई राखेका छन्।
समितिको बैठकपछि कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विद्यमान कानुन र सरकारले लिएको नीतिका आधारमा त्यस्ता व्यक्तिहरुलाई कठघरामा उभ्याउनुपर्ने र सर्वसाधारणको पैसा तुरुन्तै पाउनुपर्ने बताएका छन्।
‘देशको नीति र कानुनले पनि समेटेन भने जनताको आफ्नो बचतलाई जसरी पनि फिर्ता आउँछ भन्ने सुनिश्चितता दिने काम सरकारको हो’, नेता विश्वकर्माले भने, ‘किनभने सरकारले स्वीकृति दिएर खोलेका सहकारीहरुले यसरी जनतालाई ठग्न पाइँदैन।’
उनले राजनीतिक नेता वा सानो ठुलो जो भएपनि कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको बताएका छन् । ‘सहकारीमा भएको आर्थिक अनियमितता, अपचलन र ठगीजस्ता विषय अहिलेमात्र होइन लगभग कोभिड १९ पछि नै उठेको थियो’, उनले भने, ‘कतिपय सहकारी बाध्यात्मक कारणले अप्ठेरोमा परेका थिए भने कतिपयको नियतबस नै जनताका पैसा र व्यापारी व्यवसायीका पैसा संकलन गरेर आफ्नो फाइदा लिन लागेको विश्वकर्माको भनाई छ ।