काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी ए २५ फाइभ जी ल्याएको छ । यो अत्यन्त छिटो चार्ज हुने, धेरै समय चलिरहने ब्याट्रीको साथसाथै लामो समयका लागि अद्यावधिक ओएस युक्त स्मार्टफोन रहेको कम्पनीको दाबी छ।

यो स्मार्टफोनले फुल एचडी प्लस रिजोलुसन र भिजन बुस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोएलइडी स्क्रिन प्रदान गरेको छ । यस फोनको अगाडि पट्टि १३ एमपीको सेल्फी क्यामरा जडित छ ।

पछाडि ओआईएस र भीडीआईएस (ईआईएस) युक्त ५० एमपीको मुख्य क्यामरा रहेको छ । जसले प्रयोगकर्ताहरुलाई स्थिर, धमिलोरहित फोटो र भिडियो खिच्न सहयोग गर्नेछ । यसका साथै यसमा ८ एमपी अल्ट्रा वाइड कयामरा र २ एमपी म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ ।

त्यस्तै यस स्मार्टफोनमा एक्सीनोस १२८० प्रोसेसर जडित छ । यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध सुचारु रहन्छ । सामसङ ग्यालेक्सी ए२५ फाइभ जीसँग सामसङ नक्स भल्टको साथ छ । जसले फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिँदैन ।