काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न रोक लगाएको छ ।

संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकले १० बुँदे निर्देशन मार्फत बीमा प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । आज बसेको समितिले प्रिमियम आइपीओ कुन आधारमा दिएको हो भन्दै प्रश्न समेत सोधेको थियो ।

बीमा कम्पनीहरुलाई प्रिमियममा शेयर बिक्रि गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृती दिनु बीमा ऐनको विपरीत र सर्वसाधारण लगानीकर्ताको हित विपरित देखिएको सो कार्यलाई तत्काल सच्चाउन समितिको आजको बैठकले निर्णय गरेको छ ।

आज समितिले नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणलाई प्रिमियम आइपीओ निष्काशनका बिषयमा जवाफ सोधेको थियो । लेखासमितिको जवाफमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल बीमा ऐनको दफा २९ का अनुसार प्रिमियम आइपीओ निष्काशनको लागि सौद्धान्तिक सहमती दिएको बताएका थिए ।