काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएसँगै छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश निर्माण भएको बताएका छन् ।

भृकुटीमण्डपस्थित काठमाण्डौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै मन्त्री महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा रहेकाले समग्र स्थिति सन्तोषजनक भएको बताएका छन्।

उनले बहुवर्षीय आयोजनामा स्रोतको सुनिश्चितताका आधारमा बजेटका विनियोजन प्रणाली विकास गरी बजेटका बेथितिमाथि नियन्त्रणका साथै बैंकको ब्याजदर घट्नु र बजार मूल्यवृद्धि पाँच दशमलव पाँचबाट नबढ्नुले पनि सकारात्मक सङ्केत मिलेको स्पष्ट पारेका छन् ।

मन्त्री डा महतले रातो किताबमा तोकिएकोभन्दा बाहिरबाट खर्च गर्ने स्थितिको अन्त्य गर्दै बजेट प्रणालीमा सुधार आएकोे समेत उल्लेख गरेका छन् ।