काठमाडौं । चालु आर्थिक वर्षको गत मंसिर महिनाको मसान्तसम्ममा ६ खर्ब ६० अर्ब रुपैयाँ बराबरको मुद्रा चलनचल्तीमा रहेको तथ्याकंमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा कुल ६ खर्ब ६० अर्ब ८१ करोढ ६० लाख ४२ हजार १४६ रुपैयाँ बराबरका नोटहरु चलनचल्तीमा रहेका छन ।

पछिल्लो पाँच महिनाको अवधिमा ३५ अर्ब रुपैयाँ बराबरको मुद्रा चलनचल्तीमा थपिएको राष्ट्र बैंकले बताँएको छ । गत असार मसान्तसम्ममा चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ थियो ।

यस वर्षको दशैं तथा तिहारमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको थियो, जसले गर्दा पनि चलनचल्तीको मुद्रा बढेको राष्ट्रबैंकको भनाई छ । राष्ट्र बैंकभन्दा बाहिर रहेको मुद्रालाई चलनचल्तीमा रहेको नगदको रुपमा बुझिन्छ।

हाल नेपालमा १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५०० र १००० का जम्मा ११ दरका नोट चलनचल्तीमा छन् । तर, राष्ट्र बैंकले १, २, २५ र २५० का नोटहरू केही बर्ष अगाडिदेखि निष्कासन गरेको छैन ।