काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले आर्थिक मन्दीकाबीच मंसिर महिनामा मात्रै २ अर्ब ९९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

कात्तिक महिनाको तुलनामा मंसिरमा कम्पनीहरुको कुल बीमा व्यवसाय ३० दशमलव ८९ प्रतिशतले बढेको छ । निर्जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा दुई अर्ब २८ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिमा सगरमाथी लुम्बिनी इन्स्योरेन्स कम्पनीले मंसिरमा ३९ करोड ४३ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सिद्धार्थ प्रिमिय इन्स्योरेन्स ३१ करोड ८० लाख र तेस्रोमा शिखर इन्स्योरेन्स ३ करोड ४० लाख बीमा शुल्क आर्जन गरेको छ ।

मंसिर महिनामा सानिमा जिआइसी इन्स्योरेन्सले २५ करोड १८ लाख रुपैयाँ, द ओरियन्टल इन्स्योरेन्सले १३ करोड ७२ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २६ करोड १७ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ८ करोड रुपैयाँ बराबरको नयाँ व्यवसाय गर्न सफल भएका छन् ।

त्यस्तै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले चार करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २७ करोड बढी रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै ,आइजिआई प्रोडेन्सियल २८ करोड ७४ लाख ,युनाइटेड अजोडले २० करोड २९ लाख , एनएलजीले १८ करोड १ लाख ,नेपाल इन्स्योरेन्सले १३ करोड ५३ लाख र प्रभु इन्सुरेन्सले १३ करोड ५३ लाख बीमा शुल्क संकलन गरेका छन्।

पाँच महिनामा निर्जिवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन १५ अर्ब ७२ करोड,कसको कति ?