काठमाडौं । नेपाल सरकारका सबैजसो वेबसाइटहरू डाउन भएका छन् । सोमबार बिहानदेखि डट जीओभी डट एनपी डोमेन रहेका सरकारी वेबसाइट खुल्न छोडेका हुन् ।

प्रयोगकर्ताले त्यस्ता साइटहरू खोल्दा दिस साइट कान्ट बि रिच्डू भन्ने नोटिफिकेसन देखिने गरेको छ । ‘साइबल हमला’ का कारण बिहानैदेखि सरकारी वेबसाइट डाउन भएको हो । गुगलमार्फत क्रोम र फायरफक्स लगायतबाट सरकारी वेबसाइट सर्च गर्दा ‘दिस साइट क्यान नट वि रिच’ वा ४०४ पृष्ठ फेला परेन लगायतका सन्देश देखिएको छ ।

आज बिहानैदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायत सिंहदरबारमा रहेका सबै कार्यालयको वेबसाइट डाउन भएसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्राविधिकहरू समस्या सुल्झाउन खटिएका छन्।

सिंहदरबार बाहिर रहेका अन्य सरकारी कार्यालय, विभाग लगायतको समेत वेबसाइट डाउन भएको छ । ह्याकरहरूले विदेशबाट ठुलो सङ्ख्यामा ट्राफिक पठाएर अवरोध गरेको बताइएको छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइट भने खुलिरहेको छ । यसबाहेक, अध्यागमन, अख्तियार लगायत सबैजसो सरकारी कार्यालयको वेबसाइट डाउन भएको छ । सरकारी वेबसाइट डाउन हुने प्रक्रिया नौलो भने होइन ।