काठमाडौं ।अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका संधैं खुला रहेको बताएका छन् । मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा.महतले भने, ‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समस्या हटाऊँ । नेपालमै उद्योग व्यवसायको माहौल बढाउ रोजगारी यही सिर्जना गरौँ।’

मन्त्री महतले भने, ‘विदेशबाट फर्केर आएका युवाहरूले पुँजी र सिप लिएर आएका छन्, उनीहरू आधुनिक कृषि कर्म गर्दै छन् । यसलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको छ । यसले कृषि क्षेत्र आधुनिकीकरण हुन्छ र उत्पादन बढ्छ । उद्योग व्यवसायीले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न म अनुरोध गर्दछु ।’

हाम्रो अर्थतन्त्र समस्यामा थियो, अझै पनि केही समस्या छ, आउँदा दिनमा सकारात्मक सङ्केतहरू देखिने र आर्थिक वृद्धि हुने मन्त्री डा.महतले बताए। उनले भने, ‘अहिले जति पनि तथ्याङ्कहरू छन्, यी तथ्याङ्कले अहिलेको मैले भनेका कुराको पुष्टि गर्छ । हामीले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत ल्याउने बजेटमार्फत घोषणा गरेका थियौँ, अहिले ५ दशमलव ३८ मा मूल्यवृद्धि झरेको छ । छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि हामीलाई सहयोग पुगेको छ ।’

सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै छ । जग्गा कारोबारले पनि केही गति समातेको छ । बैंकहरुले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ, आउँदा दिनमा अझ वृद्धि हुनसक्छ । पर्यटक आगमन अहिलेसम्मकै उच्च हो ।’मन्त्री महतले भने

हाम्रो पूर्वाधारमा ठुलै समस्या रहेको, पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्र उपयोग गर्न सकेको उनको भनाइ थियो । आउँदा दिनमा त्यस्ता परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो । मन्त्री डा.महतले भने , ‘त्यसै गरी रेमिटेन्स ३० प्रतिशतसम्म वृद्धि भयो । यो पुँजी प्रवाह हाम्रै अर्थतन्त्रमा भएको छ । त्यसले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा दुई मत छैन । हाम्रो सञ्चितिले एक वर्ष पुग्छ । सबै सूचक सकारात्मक भएको अवस्थामा लक्ष्य गरेको आर्थिक वृद्धिमा हामी पुग्न सक्छौँ ।’

आउँदो बजेटमा अझ सुधार गरेर नेपाली उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिइने मन्त्री डा. महतको भनाइ छ । खुला सीमा भएकाले अझ धेरै समस्या छन्, चुहावट कम गर्ने प्रयास भइरहेको छ । सबैको सहयोगको आवश्यकता छ । पारी गएर किनमेल गर्ने प्रवृत्ति बढी छ । यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले सामूहिक प्रयास थाल्नुपर्छ महतले भने।