काठमाडौँ । काठमाडौँका गोकर्णेश्वर नगरपालिका लगायतका स्थानबाट जुवातास खेलेको आरोपमा प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

सोमवार राति गोकर्णेश्‍वर नगरपालिका–९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ घर भएका ४४ वर्षीय दुर्गालाल तामाङको टहरोमा जुवा तास खेलिरहेका तामाङसहित अन्य ८ जनालाई  पक्राउ गरिएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै काठमाडौँ महानगरपालिका–१७ कलधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवा तास खेलिरहेका तामाङसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ९ सय रुपैयाँ र १ बुक ताससहित सोमवार राति पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।