काठमाण्डौ । विश्वमाझ लघुवित्तका पिता भनेर चिनिएका बंगलादेशी प्रोफेसर डा.मोहम्मद युनुस खाँलाई छ महिनाको जेल सजाय सुनाइएको छ।

नोबेल पुरस्कार विजेता समेत रहेका अर्थशास्त्री युनुसलाई बंगलादेशको श्रम कानून उल्लंघन गरेको आरोप छ । अदालते उक्त अभियोगमा सोमबार जेल सजाय सुनाएको हो ।फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित थिए ।

एजेन्सीको अनुसार फैसला लगत्तै युनुसले दिएको निवेदनमा अदालतले उनलाई ५ हजार रुपैयाँ धरौटी लिएर एक महिनाको जमानत पनि दिएको छ । युनुसका समर्थकहरूले भने जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । श्रम अदालतका न्यायाधीश शेख मरिना सुल्तानाले फैसला सुनाउँदै श्रम कानून उल्लंघन गरेको आरोप प्रमाणित भएको बताइन् ।

न्यायाधीशले युनुससहित अन्य तीन जनालाई पनि ग्रामीण टेलिकमको कामका क्रममा कानून उल्लंघन गरेको अभियोगमा छ महिनाको साधारण जेल सजाय सुनाएका छन् । न्यायाधीशले उनीहरूलाई जनही २५ हजार टाका जरिवाना तिर्नुका साथै थप १० दिन जेलमा बस्नु पर्ने फैसला सुनाएका छन् ।

विद्यमान कानूनअनुसार युनुस र अन्यले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । उनले सन् २००६ मा नोबेल पुरस्कार पाएका थिए । उता विश्वव्यापी मानवअधिकारबादी संस्था एम्नेस्टी इन्टरनेशनलले उनलाई दोषी ठहराउनु भनेको राजनीतिक प्रतिशोध गर्न न्याय प्रणालीको दुरुपयोग गरिको बताएको छ ।

युनुस र उनको ग्रामीण बैंकले बंगलादेशका ग्रामीण भेथका गरिबहरूलाई १०० डलरभन्दा कम ऋण दिएर लाखौंलाई गरिबीबाट बाहिर निकाल्ने कामको लागि नोबेल शान्ति पुरस्कार जितेको थियो । जुन विश्वव्यापी आन्दोलनलाई अहिले माइक्रोक्रेडिट भनिन्छ।

लघुवित्तका पिता मोहम्मद युनुस खाँको सम्मानमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ‘युनस पोखरा’ शाखा सञ्चालन गरिरहेको छ । बंगलादेशको ग्रामीण ट्रष्टका प्रबन्ध निर्देशक अब्दुल हेई खाँले उक्त शाखाको उद्घाटन गरेका थिए।