काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि नयाँ योजना ल्याएको छ । बैंकले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको हो ।

टपअप धमाका योजनामा बैंकको मोबाइल बैंकिङमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ ग्राहकले लक्की ड्रमार्फत २०० रुपैयाँ टपअप प्राप्त गर्नेछन् । यो योजना पुस १९ देखि २५ गते सम्मका लागि हो ।

बिजुली र इन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरी अर्को योजना ल्याइएको छ । जसमा बैंकको मोबाइल बैंकिङमार्फत हालसम्म बिजुली र इन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकले पहिलो कारोबारमा भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ पाउने छन् ।

यसअघि नै मोबाइल बैंकिङमार्फत बिल भुक्तानी गरिरहेका ग्राहकले यो अवधिमा पुनः भुक्तानी गरे उनीहरुमध्ये बिजुलीको बिल र इन्टरनेटको बिलतर्फ १-१ जनाले लक्की ड्रमार्फत ५ महिनासम्मको बिल भुक्तानी वा अधिकतम ५ हजार रुपैयाँ पाउने बैंकले जनाएको छ । यो योजना पुस १९ देखि माघ १९ गते सम्म लागू हुनेछ ।

यस्तै, क्यूआरमार्फत योजना अवधिमा एक पटक वा पटक पटक गरी ५०० रुपैयाँसम्मको कारोबार गर्ने ग्राहकमध्ये ५ जनाले लक्की ड्रमार्फत स्मार्ट वाच पाउनेछन् । यसअघि क्यूआरमार्फत कारोबार गरेका ग्राहक यो योजनामा सहभागि हुन पाउने छैनन् । यो योजना पुस १९ देखि माघ १९ गतेसम्मका लागि हो ।

डिजिटल कारोबारलार्ई प्रोत्साहित गर्न भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट शुल्कविनै रकम झिक्न सकिने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ ।